नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

२०८३ जेठ २३ शनिवार
सारांश
  • “विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

१. नेपालको नयाँ नेतृत्वसँग संवाद गर्न इच्छुक 
भारत नेपालमा जेन–जी आन्दोलनबाट उदाएको नयाँ नेतृत्वसँग संवाद र सहकार्य गर्न निकै इच्छुक देखिन्छ । भारतमा पनि ककरोच जनता पार्टी नामक अनलाइन पार्टीले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ र सो पार्टीले जुन ६ मा नयाँ दिल्लीमा आयोजना गर्न लागेको विशाल प्रदर्शनबारे हालै पत्रकार सम्मेलनसमेत गरेको छ । यसले जेन–जी राजनीतिले भारतमा पनि स्थान बनाइरहेको संकेत गर्छ । त्यसैले जेन–जी लहरबाट नेपालमा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रबि लामिछानेलाई भारतले स्वागत गर्नु रणनीतिक दृष्टिले अर्थपूर्ण मान्न सकिन्छ ।

 

रास्वपा सभापति रवि लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीन, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भ्रमणको मुख्य आकर्षणका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे । हिन्दुस्तान टाइम्समा प्रकाशित रबिको लेखमा नेपाल–भारत सम्बन्धलाई “विकास कूटनीति” (Development Diplomacy) मार्फत पुनर्परिभाषित गर्नुपर्ने तथा परम्परागत शक्ति राजनीतिभन्दा विकासमुखी सहकार्यमा केन्द्रित हुनुपर्ने विचार प्रस्तुत गरिएको थियो । उक्त अवधारणाले भारतीय नेतृत्व, विशेषतः प्रधानमन्त्री मोदीको ध्यान आकर्षित गरेको देखिन्छ । मोदी, जयशंकर र अमित शाहले सो लेखको तारिफ गरेको पनि चर्चा छ ।

 

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

 

२. के यो भ्रमण नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेकर’ हो त ?
रवि लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेकर’ को रूपमा हेर्न सकिन्छ । किनकि पछिल्ला करिब तीन महिनायता नेपाल र भारतबीच कुनै उल्लेखनीय उच्चस्तरीय राजनीतिक संवाद भएको थिएन । यसको विपरीत, संयुक्त राज्य अमेरिकाले भने तीन पटक नेपालसँग उच्चस्तरीय सम्पर्क गरिसकेको थियो ।

 

प्रधानमन्त्री बालेनले भारतीय राजदूतसँग एकल भेटवार्ताप्रति खास चासो नदेखाएको चर्चा चलिरहेको थियो, जसले भारतीय विदेश सचिवको नेपाल भ्रमणलाई समेत असर पार्न सक्ने अनुमान गरिएको थियो । फलस्वरुप  अनुमान सत्य साबित भयो र भारतबाट भ्रमण नेपालमा भएन तर रविको भारत भ्रमणपछि नेपालका विदेश मन्त्री भारत भ्रमणमा जाने र भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्ने समाचार सार्वजनिक भइसकेको छ । यस अर्थमा यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ ऊर्जा भर्ने काम गरेको देखिन्छ ।

 

३. पार्टीगत सम्बन्ध र कूटनीतिक सन्तुलन
एकातर्फ रवि लामिछाने भाजपा पार्टीको निमन्त्रणामा पार्टी–पार्टी सम्बन्ध सुदृढ गर्न भारत गएका थिए । अर्कोतर्फ भारतीय प्रधानमन्त्रीसँगको भेटले उनको भ्रमणलाई स्पष्ट रूपमा कूटनीतिक आयाम पनि प्रदान गर्यो । मोदीले रबि संगको भेट पछि फेसबुकमा स्टाटस लेख्दै भने कि, नेपाल हाम्रो छिमेकी पहिलो नीति अन्तर्गतको प्रायोरिटी पार्टनर हो भनेर भने ।

 

हिन्दुस्तान टाइम्समा उनले प्रस्तुत गरेका विचारहरू, विशेषतः विकासमुखी नेपाल–भारत सहकार्यको अवधारणा, काठमाडौं फर्किएपछि पनि निरन्तरता पाउन आवश्यक छ । किनभने नेपालमा दिल्लीमा रहँदा एउटा कुरा र काठमाण्डौं फर्के पछि अर्को कुरा गर्ने पुरानै कुचलन छ ।

 

४. भूराजनीतिक अर्थ र आन्तरिक धारणा
रवि लामिछाने र प्रधानमन्त्री बालेनबीचको राजनीतिक सम्बन्ध तथा ‘ट्युनिङ’ बारे सार्वजनिक रूपमा विभिन्न अड्कलबाजी भइरहेका छन् । भूराजनीतिक दृष्टिकोणबाट हेर्दा भारतले रविलाई निमन्त्रणा गर्नु प्रधानमन्त्री बालेनमाथि ‘कूटनीतिक सन्तुलन’ कायम गर्ने प्रयासको रूपमा पनि कतिपयले व्याख्या गर्न सक्छन् । किनभने नेपालमा इतिहास देखिनै हेर्ने हो भने पनि पार्टी अध्ययक्ष वा सभापति र सो पार्टीको अर्को प्रम भएमा कहिले राम्रो सम्बन्ध भएको इतिहास छैन ।

 

आशा गरौं, रविले यो भारतमा पाएको पुष्वृष्टि अवसरको ८० प्रतिशत उपयोग नेपालको राष्ट्रिय हितका लागि र २० प्रतिशत मात्र आफ्नो पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गर्नेछन् ।

 

५. कालापानी मुद्दा अझै जटिल छ 
कालापानीको विषय नेपालका लागि अहिले पनि अत्यन्त जटिल र संवेदनशील मुद्दा बनेको छ । रणनीतिक दृष्टिले भारतले कालापानीलाई आफ्नो सुरक्षा चासोसँग जोडेर हेर्ने गरेको देखिन्छ । भविष्यमा भारत–चीन सम्बन्ध तनावपूर्ण वा द्वन्द्वतर्फ उन्मुख हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दा भारतले त्यहाँबाट सुरक्षा बल फिर्ता बोलाउने सम्भावना अत्यन्त न्यून देखिन्छ ।

 

काल्पनिक रूपमा भन्नुपर्दा, यदि भारतको राजधानी नयाँ दिल्ली नभई मुम्बई वा बेंगलुरु भएको भए कालापानीको रणनीतिक महत्व फरक हुन सक्थ्यो । किनभने चीनलाई भारतको राजधानी दिल्ली माथि कालापानी मार्फत चढाई गर्न सहज पर्छ । त्यसैले वर्तमान भूराजनीतिक यथार्थमा यो मुद्दाको समाधान सहज देखिँदैन ।

 

६. प्रधानमन्त्री बालेनको संसदीय अभिव्यक्ति
प्रधानमन्त्री बालेनले संसदमा बोल्ने क्रममा “नेपालले पनि भारतको भूमि विभिन्न स्थानमा मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए जसलाई पछि परराष्ट्र मन्त्रालयले सच्याएको थियो । परराष्ट्र मन्त्रालयले सो अभिव्यक्तिलाई प्रमले सीमामा बस्ने नेपाली तथा भारतीयहरुले एक अर्को तर्फ नदीको वहाव परिवर्तनको कारणले गर्दा जमिन उपभोग गरेको अर्थात् “क्रस बोर्डर अकुपेसन” भनेको थियो ।

यो अभिव्यक्ति जानाजानी गरिएको थियो वा शब्द चयनमा भएको त्रुटि थियो भन्ने कुरा समयले स्पष्ट पार्ला । तर कूटनीतिमा यस्ता अभिव्यक्तिका लागि त्रुटिको ठाउँ निकै सानो हुन्छ । नेपाली जनताले उनीप्रति राखेको अपेक्षालाई ध्यानमा राख्दै उक्त विषयको विश्वसनीय र सन्तुलित व्यवस्थापन हुनु आवश्यक देखिन्छ ।

 

रबिको भारत भ्रमणकै दौरानमा भारतको विदेश मन्त्रालयले नेपाल तथा भारतको सीमा समस्यामा तेस्रो पक्ष सामेल नहुने भनेर आफ्नो अडान प्रष्ट राख्यो । भारतको विदेश मन्त्रालयले प्रम बालेनको अभिव्यक्ति लक्षित यो बयान दिएको थियो । प्रम बालेनले संसदमा आफ्नो अभिव्यक्तिको क्रममा नेपालको सीमा समस्याको समाधानका लागि “इंगल्याण्ड” सरकार संग पनि कुरा भईरहेको छ भन्ने जिकिर गरेका थिए ।
सन् २०१९ मै भारतले आइसिजेलाई पत्र लेखेर आफ्नो सीमा सम्बन्धी विषयमा दुई पक्षिय मात्रै छलफल गर्ने भनिसकेको छ ।

 

निष्कर्ष
नेपालका लागि भारतसँग प्रभावकारी र परिणाममुखी सम्बन्ध कायम गर्नु सर्वोच्च प्राथमिकताको विषय हुनुपर्छ । भारतसँग विभिन्न क्षेत्रमा उचित समन्वय, विश्वास र सहकार्य बिना नेपालको विकास र समृद्धिको यात्रा कठिन बन्न सक्छ ।

 

त्यसैले नेपाली नेतृत्वले भारतसँग व्यवहार गर्दा अत्यन्तै गणनात्मक, यथार्थवादी र राष्ट्रिय हित केन्द्रित दृष्टिकोण अपनाउन आवश्यक छ । लोकप्रियतावादी नाराभन्दा पनि व्यवहारिक कूटनीति र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनु आजको आवश्यकता हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप लेखहरु